केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएको छ ।
देउवा समूहका शीर्षनेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिनुभयो । संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।
महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संवोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गरिएको हो ।
यसअघि पूर्वसभापति देउवा समूहले गत साउन २९ गतेदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनपछि संस्थापनइतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।
संस्थापन पक्षले यस अघि नै पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यसरी दुवै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै राखेको देखिन्छ ।रासस








प्रतिक्रिया राख्नुहोस्