भैरहवाको क्यासिनोमा जुवा खेल्ने पाँच नेपालीसहित छ जना पक्राउ
रुपन्देही । रुपन्देहीको भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित छ जना पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१० स्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी, पोखरा–१७ का ३९ वर्षीय सुदीप आचार्य, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ का ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल–३ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
त्यस्तै, क्यासिनोका पिट म्यानेजर भारतको हरियाणा, फरीदाबादका २५ वर्षीय पारस भाटिया पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार नेपाली नागरिकहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा बिहीबार दिउँसो ४ बजेर १५ मिनेटमा चेकजाँच गरिएको थियो। सो क्रममा उनीहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए।
नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
रुपन्देहीमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने गतिविधि नियन्त्रण चुनौतीका रूपमा देखिँदै आएको छ।







प्रतिक्रिया राख्नुहोस्