तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग

बाढी पीडितलाई राहत रकम हस्तान्तरण गरिदै काठमाडौँ, २६ भदौ । पुर्वाधार विकासमन्त्री सुनिल लम्साललाई शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)सहितको टोलीले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा रु ९९ लाख ८४ हजार ६९५ प्रदान गर्दै । तस्बिर : विमलबहादुर विष्ट/रासस

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रु ९९ लाख ८४ हजार ६९५ सहयोग गरेको छ । महासङ्घले आज सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो । 

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत राहत रकम कोषमा हस्तान्तरण गरेको हो । राहत रकम ग्रहण गर्दै मन्त्री लम्सालले विपद्का बेला बाढीपीडितको उद्धार तथा राहतका लागि महासङ्घले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विभिन्न क्षेत्रबाट भइरहेको सहकार्यले राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने बताउनुभयो ।

रकम हस्तान्तरणपछि महासङ्घका अध्यक्ष सिटौलाले भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको उद्धार र खोजीकार्यमा महासङ्घ निरन्तर सक्रिय भएर लागिरहेको बताउनुभयो । उहाँले यातायात क्षेत्रसँग प्रत्यक्ष जोडिएका मजदुर तथा व्यवसायीसमेत बाढीबाट प्रभावित भएकाले महासङ्घले आफ्ना सदस्य तथा श्रमिकको उद्धारका साथै पीडित परिवारलाई सहयोग गर्ने कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

“बाढीपीडितको उद्धार तथा राहतका लागि संस्था निरन्तर सक्रिय छ । हाम्रा दर्जनौँ यातायात मजदुर र सवारीसाधनसमेत अहिलेसम्म बेपत्ता छन् । यातायात मजदुर र बाढीपीडितको उद्धार तथा सहयोगमा हामी अहोरात्र खटिएका छौँ”, अध्यक्ष सिटौलाले भन्नुभयो ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेका बेला यातायात व्यवसायी महासङ्घले गरेको सहयोगले प्रभावितको राहत तथा पुनः स्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button