तपाईँ सुन्दै हुनुहुन्छः

सिधनियाघाटको निर्माणाधीन पुल थप ४४० मिटर विस्तार गर्न स्थानीयको माग

बाँके । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई थप ४ सय ४० मिटर विस्तार गर्न स्थानीयले माग गरेका छन्।

हाल सिधनियाघाटमा ७ सय मिटर लामो र ११ मिटर चौडाइको पक्की पुल निर्माण भइरहेको छ। स्थानीयका अनुसार नदीको पूरै बहाव क्षेत्र समेट्ने गरी पुललाई थप ४ सय ४० मिटर विस्तार गरी कुल एक हजार १ सय ४० मिटर पुर्‍याउन सके बाढी, डुबान र नदी कटानको जोखिम न्यूनीकरणमा सहयोग पुग्नेछ।

राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले नदीको वास्तविक बहाव क्षेत्रलाई समेट्ने गरी पुल विस्तार आवश्यक रहेको बताउनुभएको छ। उहाँका अनुसार सिधनियाघाटमा यसअघि ३ सय ५० मिटर लामो एक लेनको पुरानो पुलबाट आवागमन हुँदै आएको थियो।

स्थानीयवासीले राप्ती नदीको बहाव घुमेर पूर्वतर्फ जाने भएकाले वर्षायाममा खेतीयोग्य जमिनमा पानी पस्ने तथा कटान र डुबानको समस्या दोहोरिने गरेको बताएका छन्। पुल विस्तारसँगै तटबन्ध तथा नदी व्यवस्थापनका संरचना निर्माण गर्न सके जोखिम घटाउन सकिने उनीहरूको भनाइ छ।

लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कृष्णा केसीले स्थानीयको मागअनुसार पुलको बाँकी भागमा समेत संरचना विस्तारका लागि पहल गर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार बाँकी क्षेत्रमा तटबन्ध तथा नदी व्यवस्थापनका लागि करिब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्जका आयोजना प्रमुख लीलाबहादुर भण्डारीले पुलको लम्बाइ थप गर्न स्थानीय र जनप्रतिनिधिबाट माग आएको भन्दै सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभएको छ।

उहाँका अनुसार हाल निर्माणाधीन पुलको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ८९ प्रतिशत पुगेको छ। नदीमा पानीको बहाव बढी रहेकाले बहाव कम भएपछि करिब दुईदेखि तीन महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भ्याटसहित एक अर्ब १९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको ठेक्का २०७९ माघ ४ गते सम्झौता भएको हो। पुल २०८४ असार ४ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा रहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाअन्तर्गत पहुँच सडक तथा नदी नियन्त्रण र तटबन्धका विभिन्न संरचनासमेत निर्माण गरिनेछन्। स्थानीयले भने नयाँ पुल निर्माणसँगै नदीको पूरै बहाव क्षेत्रलाई समेट्ने गरी थप पुल तथा नदी व्यवस्थापनका काम अघि बढाउन माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button