भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा शोक सभा
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले रसुवा बाढीमा ज्यान गुमाएकाहरुको सम्मानमा शोक तथा समवेदना प्रकट गरेको छ ।

विश्वविद्यालयद्वारा आज यहाँ आयोजित शोक सभा मार्फत रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक तथा समवेदना प्रकट गरिएको हो ।
शोक सभाका क्रममा एक मिनेट मौन धारण गरी नेपालको राष्ट्रिय झण्डा तथा मध्यपश्चिम विश्वविद्यालयको झण्डा आधा झुकाई मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । शोक सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति डाक्टर राजन सुवालले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गरी शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
उहाँले बाढीबाट प्रभावित, घाइते तथा विस्थापितहरुको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनर्स्थापनाको कामना गर्दै यस कठिन घडीमा प्रभावित समुदायसँग विश्वविद्यालय परिवार ऐक्यबद्ध रहेको बताउनुभयो ।
उपकुलपति सुवालले विपद्का समयमा विश्वविद्यालयमा कार्यरत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको संयुक्त योगदानमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ५४ लाख रुपैयाँ जम्मा गरिएको जानकारी समेत दिनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सुदीप ठकुरी, विभिन्न ग्र्याजुएट स्कुलका डीन, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, कार्यकारी निर्देशक लगायत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्