भोटेकोशी बाढीमा बेपत्ताको खोजी तीव्र पार्न सांसदहरूको सरकारसँग माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले भोटेकोशी बाढीका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका नागरिकहरूका आफन्तप्रति सरकारको जबाफदेहिता सुनिश्चित गर्न माग गर्नुभएको छ ।
बैठकमा सांसदहरूले बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनामा कार्यरत बेपत्ता व्यक्ति र पर्यटकहरूको खोजी र उद्धारलाई तीव्रता दिनुका साथै प्रभावित परिवारले उठाएका प्रश्नमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।
सांसदहरूले बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरि सम्भावित महामारीको रोकथाम गर्नुपर्ने भन्दै घाइतेको समयमै उपचार र मृतकका परिवारजनलाई आवश्यक मनोसामाजिक परामर्शको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै एउटै त्रिपालमुनि धेरै जनासँग बस्न बाध्य प्रभावित महिला, किशोरी तथा बालबालिकाको गोपनीयता, सुरक्षा र मर्यादा सुनिश्चित हुने गरी सुरक्षित आवासको व्यवस्था गर्न सांसदहरुले सरकारलाई आग्रह गर्नुभयो ।
सांसदहरुले बाढीबाट परिवार गुमाएका बालबालिकाको तत्काल पहिचान, शिक्षाको निरन्तरता, उचित व्यवस्थापन र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्ने, प्रभावकारी रुपमा राहत वितरण गर्न, अवरुद्ध मुख्य राजमार्ग तत्काल सञ्चालनमा ल्याउन, आवश्यक उद्धार उपकरणको व्यवस्थापन गर्न तथा सडक दुर्घटना न्यूनीकरण गर्न लगायतका विभिन्न समसामयिक विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठक जारी छ ।







प्रतिक्रिया राख्नुहोस्