तिब्बत पट्टी बजार नखुल्दा लप्चीवासी चिन्तित
दोलखा । चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लप्चीका स्थानीय यो वर्ष चौँरी व्यवसाय ठप्प भएपछि चिन्तित भएका छन् ।

हरेक वर्ष साउन अन्तिम साता लप्चीवासीका लागि तिब्बतको टाँसीघाङमा ३/४ दिन बजार लाग्ने गरेकोमा यो वर्ष बजार नलाग्दा चौँरी तथा चौँरीबाट उत्पादित बस्तु बिक्री गर्न नसकिएको स्थानीय ७२ वर्षीय पेम्बाछिरी शेर्पाले बताए ।
केही समय अघि लप्ची घुम्न आएका दुई युवकले सीमा पारी पुगेर ड्रोन उडाएको घट्नापछि सिमानाकामा कडाइ गरिएको र त्यसैको कारण पनि टाँसीघाङमा बजार नखुलाएको हुनसक्ने पेम्बाछिरीको अनुमान छ ।
अहिले लामाबगर क्षेत्रमा सञ्चालन भएका हाइड्रोपावरहरूका कारण सडक निर्माण भएकाले नेपाली बजारमै आवश्यक सामान खरिद गर्न सकिने अवस्था बनेको भए पनि चौँरी तथा चौँरीबाट उत्पादित वस्तुहरू नेपालमा बिक्री गर्न सकिने अवस्था भने नबनेकोले समस्या भएको लप्ची गाउँका अध्यक्ष गरा शेर्पाले बताए ।
विगुको वडा नम्बर– १ लप्चीमा ४६ घरधुरी र झण्डै एक सय ५० जनसङ्ख्या रहेको छ । उनीहरूमध्ये चौरीपालन गर्ने झण्डै १४ घरधुरी रहेको स्थानीय बताउँछन् । लप्चीका धेरै स्थानीय राजधानी काठमाडौँ र लामाबगर बस्ने भए पनि चौँरी व्यवसाय गर्नेहरू भने लप्चीमै बस्ने गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्