एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो । बहराइनले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले २१ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालको लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाएका हुन । त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे । देव खनालले १० रन बनाए ।
बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो ।
बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बहराइनलाई ८७ रनमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट हात पारे । नेपालले आफ्नो दोस्रो खेल यही भदौ १८ गते मलेसियासँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्