तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोशी क्षेत्रमा बाढी प्रभावित नागरिकका लागि राहत तथा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति र संस्थालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र परिचालन हुन आग्रह गरेको छ।

सचिवालयले पूर्वसमन्वयविना साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र जाम सिर्जना भएको जनाएको छ।

यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्स, सरकारी उद्धार टोली तथा प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनलाई गन्तव्यसम्म पुग्न कठिन भइरहेको सचिवालयले जनाएको छ।

विषम अवस्था र जोखिमयुक्त भूगोलमा पूर्वतयारीविना पुग्दा राहतदाताको सुरक्षामा समेत जोखिम बढेको सचिवालयको भनाइ छ।

सचिवालयले व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा नजान र राहत वितरण तथा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी पूर्वसमन्वय गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले क्षेत्रगत आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई एकीकृत रूपमा प्रभावित स्थानमा पुर्‍याउने व्यवस्था मिलाउने जनाइएको छ।

सद्भाव र सहयोगको भावनालाई कदर गर्दै सरकारी संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत उपलब्ध गराई उद्धार कार्यमा सहयोग गर्न प्रधानमन्त्री सचिवालयले सबैमा अपिल गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button