नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौ ३१ देखि पुनः सञ्चालन हुने
बाँके। लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।
निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले यात्रुको माग बढेपछि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सञ्चालन गर्न लागेको हो।
बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगञ्ज र पोखरालाई सिधा हवाई सम्पर्कमा जोड्ने उडानका लागि पछिल्लो समय यात्रुको माग बढेको छ। भारतको उत्तर प्रदेशबाट नेपाल आउने धार्मिक पर्यटकलाई समेत पोखरासँग सिधा जोड्न उडान पुनः सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।
बुद्ध एयरले गत जेठ ५ गतेदेखि नेपालगञ्ज–पोखरा उडान स्थगित गरेको थियो। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र उडान सञ्चालनमा इन्धन खर्च बढी हुनुका कारण सेवा रोकिएको थियो। पछिल्लो समय धार्मिक पर्यटकको आगमन र यात्रुको माग बढेपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको बुद्ध एयरले जनाएको छ।
उडान तालिकाअनुसार भदौ ३१ गतेदेखि हरेक आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा उडान हुनेछ। बुद्ध एयरले उडानको बुकिङसमेत खुला गरिसकेको जनाएको छ।
सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेसहित पश्चिम नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जलाई पोखरासँगै पश्चिम नेपाल र भारतको उत्तर प्रदेशका नागरिकलाई समेत सिधा हवाई सम्पर्कमा जोड्ने भएकाले यो सेवा पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो।
नियमित उडान सञ्चालन भएपछि भारतीय तथा नेपाली पर्यटकलाई पोखरा, मुस्ताङलगायतका पर्यटकीय गन्तव्यमा पुग्न सहज हुने उहाँको भनाइ छ। साथै, बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा हुँदै हिमाली तथा अन्य पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
हवाई सम्पर्क विस्तारले पर्यटनसँगै व्यापारिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीको विश्वास छ।
स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा हवाई सेवा सातामा तीन दिन सञ्चालनमा आएको थियो। सेवा स्थगित भएपछि प्रभावित भएको पश्चिम नेपाल र पोखराबीचको नियमित हवाई सम्पर्क पुनःस्थापित हुने भएपछि यात्रु तथा पर्यटन व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्