तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका १३४ जना सम्पर्कविहीन

सुर्खेत । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १३४ जना सम्पर्कविहीन भएका छन् । 

बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका आफन्त तथा परिवारका सदस्यहरुले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा टिपाएको प्रारम्भिक विवरणका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय यो तथ्याङ्क सार्वजनिक गरेको हो । 

सम्पर्कविहीन हुनेहरूमध्ये कर्णालीका विभिन्न जिल्लाबाट सडक तथा जलविद्युत आयोजनामा मजदुरी गर्न गएकाहरू धेरै छन् । अध्ययन, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूमा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरूको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । हालसम्म उपलब्ध तथ्याङ्क अनुसार सम्पर्कविहीन हुनेहरूमा १०८ जना पुरुष, १७ जना महिला, ६ जना बालक र तीन जना बालिका छन् । 

जिल्लागत रुपमा सबैभन्दा धेरै सल्यानका ४९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ४० पुरुष, ६ महिला, २ बालक र १ बालिका सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार रसुवा र नुवाकोट जिल्लामा सडक र जलविद्युत आयोजनामा मजदुरी तथा अन्य कामको शिलशिलामा रहेका व्यक्तिहरू परिवारको सम्पर्कमा नआएको विवरण परिवार तथा सदस्यले टिपाएका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (एसएसपी) सन्तोष सिंह राठोरले  यो संख्या अझ तलमाथि हुन सक्ने बताउनु भयो । उहाँका अनुसार सुर्खेतका १० जना पुरुष, १ जना महिला गरी ११ जना सम्पर्कविहीन भएका छन् । दैलेखका ४ जना पुरुष र १ जना महिला गरी ५ जना सम्पर्कविहीन छन् । जाजरकोटका ३ जना पुरुष, रुकुम पश्चिमका १ पुरुष, २ महिला र १ बालक गरी ४ जना, जुम्लाका ३१ जना पुरुष, हुम्लाका ७ पुरुष, ३ महिला, १ बालक र १ बालिका गरी १२ जना परिवारको सम्पर्कमा आएका छैनन् । 

त्यस्तै डोल्पाका १ पुरुष, १ महिला गरी २ जना, मुगुका ८ पुरुष, २ महिला, २ बालक गरी १२ जना, कालीकोटका ३ पुरुष, १ महिला र १ बालक गरी ५ जना सम्पर्कविहीन छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button