तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको भोटेकोशी बाढीमा पत्रकारसहित परिवारका सदस्य सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एक पत्रकारसहित पत्रकारका परिवारका सदस्यहरू सम्पर्कविहीन भएका छन्।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा समाचार सङ्कलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको जानकारी परिवारले महासङ्घलाई गराएको छ।

यस्तै, नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य पनि सम्पर्कविहीन हुनुभएको छ। पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको महासङ्घले जनाएको छ।

नेपाल पत्रकार महासङ्घले सम्पर्कविहीन भएकाहरूको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेको छ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा समेत अवरुद्ध भएको महासङ्घले जनाएको छ। सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन तथा सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्थामा सहयोग गर्न महासङ्घले सम्बन्धित निकाय र सरोकारवालासँग अपिल गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button