तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० निवासी करिब ६० वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आइतबार दिउँसो सगरमाथा राजमार्गअन्तर्गत गाईघाटबाट करमगाछीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक सिराहाको नरहा गाउँपालिका–३ घर भई हाल त्रियुगा नगरपालिका–१२ बस्ने १९ वर्षीय मोहवद सविर राईन पनि घाइते भएका छन् । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि राईनलाई न्युरो अस्पताल विराटनगर रेफर गरिएको सूचना अधिकारी बमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button