तपाईँ सुन्दै हुनुहुन्छः

पथलैया–वीरगञ्ज सडक खण्ड चार दिनपछि सञ्चालनमा

बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको जघन्य हत्याको विरोधमा गत बुधबारदेखि अवरुद्ध बनेको पथलैया–वीरगञ्ज सडक खण्ड चार दिनपछि सञ्चालनमा आएको छ । 

काठमाडौँमा सरकार र पीडित परिवारबिच मध्यराति तीन बुँदे सहमति भएसँगै आइतबार बिहानदेखि सिमराको जनजीवन सामान्य बन्न थालेको हो । 

जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी बालिका गरिमा गत आइतबार बिहान घरबाटै बेपत्ता हुनुभएको थियो । दुई दिनपछि मङ्गलबार साँझ स्थानीय एक खाली घरमा उनको शव फेला परेको थियो । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही राति छिमेकी १६ वर्षीय एक किशोर र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो । 

छिमेकीबाटै जघन्य अपराध भएको तथ्य बाहिरिएपछि स्थानीय र परिवारजनले दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै सिमरा दशधुरे अगाडि मुख्य सडकमै टेन्ट टाँगेर आन्दोलन सुरु गरेका थिए । आन्दोलनका कारण चार दिनसम्म वीरगञ्ज–पथलैया औद्योगिक करिडोर र राजमार्ग ठप्प बनेको थियो । सडक बन्दका कारण हजारौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन बिच बाटोमै रोकिएका थिए ।

शनिबार दिउँसो गृहमन्त्री सुधन गुरुङको आह्वानमा वार्ताका लागि मृतकका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौँ पुर्‍याइएको थियो । गृह मन्त्रालयमा मन्त्रीहरूसँग भएको लामो छलफल र तीन बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो । 

काठमाडौँमा सहमति भएको खबर पाएलगत्तै राति १ बजे स्थानीयले सडकको धर्ना छाडेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button