धनुषाका मिथिला विहारीका ३१० परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नंं ३ का ३१० परिवारलाई आज जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।
नापी कार्यालय धनुषाले गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको जनाएको हो ।
साबिक मिथलेश्वर महुवाही गाउँ विकास समिति–१, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लकको नाप नक्सा आर्थिक वर्ष २०७२÷७३ मा नै सम्पन्न भएको भए पनि जग्गाधनी प्रमाणपूर्जा वितरण भएको थिएन ।
नाँपनक्सा सम्पन्न भएको लामो समयसम्म पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए । नापी कार्यालय धनुषाले नाँपनक्सा भइसकेका जग्गाको अभिलेख अद्यावधिक तथा दर्तासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउँदै ३१० थान जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ ।
जग्गाधनी पुर्जा प्राप्त गरेपछि लामो समयदेखि स्ववासीका रूपमा आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाँपनक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्