इलाममा ७० खेल शिक्षकलाई भलिबल प्रशिक्षण दिइने
इलाम । जिल्ला भलिबल संघ इलामले जिल्लाभरका खेल शिक्षकलाई भलिबल प्रशिक्षण गराउने भएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई भलिबल प्रशिक्षण गराउँदा विद्यालय स्तरबाटै भलिबल खेलाडी उत्पादन गर्न सहज हुने ठहर गर्दै सङ्घले शिक्षकलाई नै प्रशिक्षण दिन लागेको हो ।

सङ्घले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी भदौ १० गतेदेखि १५ गतेसम्म सदरमुकाममा प्रशिक्षण आयोजना गरिएको जनाएको छ । संघका अध्यक्ष प्रवीण गुरुङले जिल्लाका सबै पालिकालाई शिक्षक छनौट गरेर पठाउन पत्राचार गरिसकिएको बताउनुभयो ।
हरेक गाउँपालिकाबाट पाँच जना, नगरपालिकाबाट सात जना, प्याब्सन इलामबाट १० जना र नेपाली सेनाबाट दुई जनासहित ७० जना शिक्षकलाई प्रशिक्षण दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
सङ्घले कोशी प्रदेशमै पहिलो पटक विद्यालय शिक्षकका लागि यस्तो प्रशिक्षण दिन लागेको गुरुङले बताउनुभयो । “एउटा शिक्षकले लामो समय विद्यालयमा पढाउने भएकाले शिक्षकलाई प्रशिक्षण दिँदा खेलाडी उत्पादनका लागि प्रभावकारी देखिएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्