तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा–२२ का २ सय परिवारलाई इन्डक्सन चुल्हो वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ (पुम्दी–भुम्दी) का २ सय परिवारलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिएको छ । खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि त्यसको विकल्पका रूपमा पोखरा २२ वडा कार्यालयले विद्युतीय चुल्हो वितरण अभियान सुरु गरेको हो ।

वडा नं. २२ मा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्थानीयवासीलाई इन्डक्सन चुल्हो हस्तान्तरण गरी उक्त अभियानको सुरुवात गर्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो ।

मेयर आचार्यले खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सके आयातित एलपी ग्यासमा रहेको परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउन सकिने बताउनुभयो । महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नगरवासीलाई सहज, भरपर्दो र वातावरणमैत्री ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरणलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । 

पोखरा वडा नं. २२ का अध्यक्ष हिमलाल बरालले कालाबाङ, भुम्दी लगायतका पाँचवटा टोलमा बसोबास गर्ने परिवारलाई पहिलो चरणमा २ सय वटा चुल्हो वितरण गरिएको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट एक हजार थान र वडा कार्यालयबाट थप एक हजार थान गरी चालु आर्थिक वर्षमा करिब दुई हजार थान इन्डक्सन चुल्हो वितरण गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button