तपाईँ सुन्दै हुनुहुन्छः

‘पार्टीभित्र देखिएको असहमतिलाई अन्त्य गर्दै बृहत्तर एकता कायम गर्न आह्वान’

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमतिलाई अन्त्य गर्दै बृहत्तर एकता कायम गर्न आह्वान गर्नुभएको छ। 

स्वास्थ्य उपचारपछि करिब पाँच महिनापछि स्वदेश फर्किनुभएका देउवाले आज काठमाडौँमा आयोजित भेलालाई सम्बोधन गर्दै व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पार्टी, लोकतन्त्र र राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले देउवाले काङ्ग्रेसभित्रको विवादले समग्र मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने जोखिम रहेको उल्लेख गर्दै सबैको न्याय र भावनाको कदर हुने गरी असहमतिलाई एकतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले कांग्रेस चार पुस्तासम्मका सदस्य आबद्ध भएको पार्टी भएकाले कठिन परिस्थितिमा पनि संवाद, सहमति र सहकार्यबाट विवाद समाधान गर्दै आएको स्मरण गर्नुभयो। कांग्रेसको हितलाई नै एकताको आधार बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले अझ सान्दर्भिक रहेको उल्लेख गर्दै सङ्कटका बेला संवाद, सहमति र सहकार्यलाई राजनीतिक संस्कार बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले २००७ सालको निरङ्कुश राणा शासन नेपाली कांग्रेसको नेतृत्वमा अन्त्य भएको र २०४६ सालको प्रजातन्त्र बहालीको आन्दोलन पनि नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको बताउनुभयो। २०६२–०६३ को जनआन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको भन्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले २०७२ सालमा नयाँ संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको समेत स्मरण गर्नुभयो । 

देउवाले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चतालाई आफ्नो जीवनका मूल आदर्श भन्दै ती मूल्यप्रति जीवनको अन्तिम क्षणसम्म अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button