अपाङ्गता भएका र अशक्त नागरिकलाई घरमै नागरिकता दिने तयारी
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने तयारी थालेको छ। प्रशासन कार्यालयसम्म पुग्न कठिनाइ हुने नागरिकलाई सहज रूपमा राज्यबाट प्राप्त हुने नागरिकताको अधिकार दिलाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।

बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउनुभएकी मीना अर्यालले शुक्रबार सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा अपाङ्गता भएका तथा अशक्त नागरिकलाई घरमै नागरिकता प्रदान गर्ने योजना अघि सारेको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्लाका सबै स्थानीय तहमा रहेका अपाङ्गता भएका र अशक्त नागरिकको तथ्याङ्क सङ्कलन गरिनेछ। त्यस क्रममा हालसम्म नागरिकता प्राप्त गर्न नसकेका नागरिकको पहिचान गरी जिल्ला प्रशासन कार्यालयको टोली घरमै पुगेर नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउने तयारी गरिएको छ।
जिल्लाका सबै स्थानीय तहमा अपाङ्गता भएका र अशक्त नागरिकको तथ्याङ्क सङ्कलन गरी नागरिकता नपाएका नागरिकलाई घरमै पुगेर नागरिकता दिने गरी सोच बनाएका छौँ प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो । नागरिकता लिन जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई स्थानीय तह तथा सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा सेवा उपलब्ध गराउने तयारी गरिएको हो। यसका लागि सम्बन्धित स्थानीय तह र वडाबाट आवश्यक विवरण सङ्कलन तथा पहिचान गर्न सहयोग लिइने बताइएको छ।
यद्यपि, जिल्लाको भौगोलिक अवस्थाका कारण सबै ठाउँमा प्रशासनको टोली पुग्न कत्तिको सहज हुन्छ भन्ने विषयमा समेत छलफल गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो। विकट भौगोलिक क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्न आवश्यक व्यवस्थापन र समन्वयबारे सम्बन्धित निकायसँग छलफल गरिने उहाँको भनाइ छ।
प्रशासन कार्यालयले स्थानीय तह, वडा कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी तथ्याङ्क सङ्कलन तथा आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ। योजना कार्यान्वयनमा आएमा भौगोलिक तथा शारीरिक कठिनाइका कारण लामो समयदेखि नागरिकता बनाउन नसकेका बैतडीका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।







प्रतिक्रिया राख्नुहोस्