तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभा बैठक भदौ १ गते

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आगामी भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले आज सूचना जारी गर्दै उक्त दिन दिउँसो १ः०० बजेका लागि बैठक आह्वान गरेको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार जारी आठौँ अधिवेशनअन्तर्गत बस्ने बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न लाग्नुभएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गर्नुभएको प्रवक्ता चापागाईँले बताउनुभयो ।

यसअघि चालु आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनका लागि गत असार २० गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक ४३ दिनपछि बस्न लागेको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button