तपाईँ सुन्दै हुनुहुन्छः

मोदीखोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

कास्की।अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीका प्रमुख एसपी बसन्त सिंहका अनुसार राति २ बजेर १५ मिनेटदेखि चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको टोली परिचालन गरी उद्धार कार्य सम्पन्न गरिएको हो। उद्धार गरिएकामध्ये एक जना पुजारी र दुई जना भक्तजन रहेका छन्।

अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा मोदीखोलाको बीचभागमा रहेको अन्नपूर्ण माता मन्दिरमा पुग्न निर्माण गरिएका कास्की र पर्वततर्फका दुवै मेटल पुल बाढीले बगाएको छ। बाढीका कारण मन्दिरको आधा भागमा समेत क्षति पुगेको जनाइएको छ।

यसैबीच, घान्द्रुक जाने सडक चार स्थानमा भत्किएको छ भने विद्युत्का पोल बगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। घटनास्थलमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्की तथा सशस्त्र प्रहरीका एसपी बसन्त सिंहसहितको टोली पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button