तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर।नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कांग्रेसले माग गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराएको छ ।

कांग्रेसका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज, सिरहालगायतका स्थानमा निर्दोष नागरिकले ज्यान गुमाएको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको उल्लेख छ ।

पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सहमति गरे पनि हालसम्म चार जनालाई सहिद घोषणा गर्नेबाहेक अन्य सहमति कार्यान्वयन हुन नसकेको कांग्रेसको आरोप छ । सरकारले गरेका सहमति अविलम्ब कार्यान्वयन गरी आवश्यक प्रक्रिया अघि बढाउन कांग्रेसले माग गरेको छ ।

त्यसैगरी, कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज अर्थात् अनुचित लेनदेन पीडित सङ्घर्ष समितिलगायत विभिन्न पेसा तथा व्यवसायका सङ्घसंस्थासँग सरकारले गरेका सहमति कार्यान्वयनको माग गरेको छ ।

यसैबीच, केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यले समसामयिक राजनीतिक तथा अन्य विषयमा आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ११ः३० बजे पुनः बस्ने कार्यतालिका रहेको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button