डिजिटल प्रणालीको सुरक्षाका लागि कानून बनाउन विज्ञहरुको सुझाव
काठमाडौँ । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरुले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ ।

बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रुचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानून बनाउन सांसदहरूलाई सुझाव दिनुभयो ।
अनलाइन भुक्तानी गरी सामान किन्नु र बेच्नु मात्रै डिजिटल अर्थतन्त्र नहुने भन्दै पाण्डेले प्रविधि र ज्ञानमा आधारित उत्पादन र उपभोक्ता एउटै हुने प्रणालीमा जोड दिन सरकारले सुरक्षा कानून बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी विद्युतीय सुशासन आयोगका पूर्वप्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले नेपालमा अनलाइन भुक्तानी मात्रै स्वीकार्य भएकाले डाटा एक्सचेन्ज, सुरक्षा र उपयोगमा निर्धक्क हुने गरी कानूनी व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले डिजिटल अर्थतन्त्र बहसको विषय भएकाले सरोकारवाला मन्त्रालय र अन्य निकायसँग छलफल गरी नयाँ कानून बनाउन सरकारलाई आवश्यक निर्देशन दिइने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्