इलाममा फर्निचर उद्योगबाट आठ लाख बढीको अवैध काठ बरामद
इलाम । इलामको चुलाचुली गाउँपालिका–६ बेलचोकस्थित एक फर्निचर उद्योगबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको छ। स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचर उद्योगबाट लुकाइछिपाइ राखिएको साल र साज (असना) जातको चिरान काठ डिभिजन वन कार्यालयको टोलीले बरामद गरेको हो।

विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय इलामको टोलीले साउन २४ गते उक्त उद्योगमा छापा मारेको थियो। ठूलो परिमाणमा काठ रहेको पाइएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको वन कार्यालयले जनाएको छ।

बरामद काठमध्ये सालको ५८७ थान (४६५.०५ क्युबिक फिट) र साजको ६ थान (६.२५ क्युबिक फिट) गरी कुल ५९३ थान (४७१.३० क्युबिक फिट) रहेको छ। बरामद काठको अनुमानित बजार मूल्य (बिगो) आठ लाख १७ हजार ३३५ रुपियाँ बराबर रहेको डिभिजन वन कार्यालय इलामका सूचना अधिकारी भुवनमणि शर्माले जानकारी दिनुभयो।

वन सहायक धनिरामसिंह कुशवाह र सीता योगीको संयुक्त कमान्डमा खटिएको टोलीले माई सब–डिभिजन वन कार्यालय सुखानी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सहयोगमा उक्त काठ बरामद गरेको हो।
कारवाहीका क्रममा उद्योग सञ्चालक विश्वकर्मासहित अवैध कारोबारमा संलग्न केही व्यक्ति फरार भएका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्