तालैतालको पाटन बुढीनन्दा : धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम गन्तव्य

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–४ मा पर्ने ऐतिहासिक तथा धार्मिक क्षेत्र बुढीनन्दा पछिल्लो समय धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको गन्तव्यका रूपमा समेत चिनिन थालेको छ। समुद्री सतहबाट करिब चार हजार पाँच सय ८१ मिटर उचाइमा रहेको बुढीनन्दा तालैतालले भरिएको रमणीय पाटन हो।
सेताम्य हिमचुचुरा, हरियाली पाटन, चारैतिर देखिने हिमाली दृश्य, कलकल बग्ने झरना र पाटनभित्र रहेका तालहरूले बुढीनन्दाको सौन्दर्यलाई थप मनमोहक बनाएका छन्।

बुढीनन्दा क्षेत्रमा कैलाश ताल, राक्षस ताल, त्रिवेणी, दउने ताल र देवताललगायत दर्जन हाराहारी ताल रहेको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताउनुभयो। चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा समेत झरना देखिनु यहाँको अर्को विशेषता हो। पाटन क्षेत्रमा रहेका आधा दर्जनभन्दा बढी झरनाले पर्यटक तथा तीर्थयात्रीलाई थप आकर्षित गर्ने गरेको नगर प्रमुख बोहराको भनाइ छ।

बुढीनन्दा प्राकृतिक सुन्दरताको क्षेत्र मात्र नभई धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रसमेत हो। विश्वका हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल मानसरोवरको फेदीसँग जोडिएको पहाडका रूपमा बुढीनन्दालाई लिने गरिन्छ। बुढीनन्दा पहाडको मानसरोवरसँग सिधा सम्बन्ध रहेको धार्मिक विश्वासका कारण स्थानीयले बुढीनन्दा देवीलाई ‘वरदानकी देवी’ का रूपमा पूजा गर्ने गरेका छन्।
स्थानीय धार्मिक विश्वासअनुसार बडीमालिका देवीले नदिएको वर बुढीनन्दा देवीले दिने जनविश्वास छ। त्यसैले भक्तजनहरू सन्तान प्राप्ति, धन–सम्पत्ति तथा मनोकांक्षा पूरा हुने विश्वासका साथ बुढीनन्दा देवीको दर्शन तथा पूजा गर्न पुग्ने गरेका छन्।

बुढीनन्दा क्षेत्रबाट बाजुरासँगै मुगु, हुम्ला र कालिकोटका विभिन्न भूभागको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। बझाङका साइपाल र जेठीबौरानी हिमालको दृश्यसमेत यहाँबाट देखिने भएकाले बुढीनन्दा प्राकृतिक दृश्यावलोकनका लागि पनि महत्वपूर्ण गन्तव्य बनेको छ।
बुढीनन्दाका तालहरू मनाङको तिलिचो तालपछि उच्च उचाइमा रहेका महत्वपूर्ण तालहरूमध्ये मानिन्छन्। धार्मिक आस्था, हिमाली भू–दृश्य, ताल र झरनाको अद्भुत संयोजनका कारण बुढीनन्दा पछिल्लो समय पर्यटक तथा तीर्थयात्रीको रोजाइमा पर्न थालेको हो।
हरेक वर्ष जनैपूर्णिमाको अवसरमा बुढीनन्दा देवीको विशेष पूजा तथा मेला लाग्ने गर्दछ। यस वर्ष पनि भदौ ११ गते, साउन शुक्ल चतुर्दशीका दिन बुढीनन्दामा विशेष पूजा–आराधनासहित मेला लाग्ने भएको छ।








प्रतिक्रिया राख्नुहोस्