बैतडीका मुख्य सडकको बिजोग, ठेकेदारको ढिलासुस्तीले खाल्डाखुल्डी यथावत्
बैतडी । बैतडीका मुख्य सडक खण्डको मर्मतसम्भारको जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडकको अवस्था दयनीय बनेको छ। सडकमा परेका ठूला खाल्डाखुल्डीका कारण यात्रु तथा सवारी चालकले सास्ती व्यहोर्नुपरेको छ।
मर्मतसम्भारको म्याद गत आर्थिक वर्ष २०८२/८३ मै सकिए पनि निर्माण कम्पनीले काम पूरा नगरेपछि डिभिजन सडक कार्यालय पाटनले आर्थिक वर्ष २०८३/८४ सम्म म्याद थप गरेको कार्यालय प्रमुख किरण सुवेदीले बताउनुभयो।
जिल्लाका प्रमुख राजमार्ग तथा सहायक सडकमा खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने र कालोपत्रे टाल्ने कामका लागि दुई निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। तर, ठेकेदारको ढिलासुस्तीका कारण सडकको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन।

वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीय तथा यात्रुले समस्या भोग्दै आएका छन्। सडक मर्मतमा ढिलाइ हुँदा दुर्घटनाको जोखिमसमेत बढेको सवारी चालकहरूले बताएका छन्।
डिभिजन सडक कार्यालयका अनुसार थपिएको समयभित्र पनि काम सम्पन्न नगरे निर्माण कम्पनीलाई कानुनी कारबाही गरिनेछ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा काम नगर्ने १३ वटा निर्माण कम्पनीको ठेक्का रद्द गरिएको थियो।








प्रतिक्रिया राख्नुहोस्