तपाईँ सुन्दै हुनुहुन्छः

बराहक्षेत्रबाट चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्तबराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डबाट प्रहरीले चार क्विन्टल १८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीका अनुसार बिहीबार बिहान करिब ५:३० बजे लागूऔषध गाँजाको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमान्डमा खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोकामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकसहित ४२०.०१ किलो रहेको गाँजाको खुद तौल ४१८ किलो कायम भएको छ।

पक्राउ पर्नेहरूमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई (विकास), कारमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार सोही ठाउँका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।

पक्राउ परेका चारै जनालाई बरामद गाँजा र सवारीसाधनसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब १७ किलोमिटर उत्तरमा पर्छ। बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button