पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ । कार्यालयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् ।
त्यसपछि सिसिटिभीमार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वानवे उल्लङ्घन गर्ने ३५, अवस्था ठिक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा चेकिङलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।
उहाँले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्