तपाईँ सुन्दै हुनुहुन्छः

लालबकैयाको बाढीले हुलाकी राजमार्ग डुबायो, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

रौतहट । अविरल वर्षापछि आएको बाढीले रौतहटको राजपुर नगरपालिका क्षेत्रमा हुलाकी राजमार्ग डुबानमा परेपछि सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् ।

राजपुर नगरपालिका अन्तर्गत फतुवा पुलको पश्चिमतर्फ रहेको लचका क्षेत्रमा लालबकैया खोलाको बाढी सडकमाथिबाट बग्न थालेपछि हुलाकी राजमार्गको आवागमन प्रभावित बनेको हो। सडकमाथि पानीको बहाव भइरहे पनि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालक अत्यावश्यक कामका लागि सोही मार्ग प्रयोग गर्न बाध्य छन् ।

हुलाकी राजमार्गको उक्त खण्ड रौतहटको प्रमुख यातायात सम्पर्क मार्गमध्ये एक हो । दैनिक सयौँ साना–ठूला सवारी साधन र यात्रु यही मार्गबाट आवतजावत गर्ने भएकाले डुबानका कारण यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । वैकल्पिक मार्गको अभावले नागरिकले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।

बाढीको बहाव निरन्तर बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत बढेको छ । सम्भावित दुर्घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा निगरानी बढाएको छ ।

निरन्तर वर्षाका कारण लालबकैया खोलाको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेकाले स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई अनावश्यक जोखिम नलिन तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, गरुडा–समनपुर सडक खण्डको अवस्था पनि बाढीका कारण प्रभावित बनेको छ । गरुडा र मलाही टोलको बीचमा रहेको सडक बाढीले कटान गरेपछि त्यहाँ पनि आवतजावतमा कठिनाइ भएको छ । स्थानीयवासीले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्थाको माग गरेका छन् ।

स्थानीयवासीले हरेक वर्ष दोहोरिने डुबानको समस्या स्थायी रूपमा समाधान गर्न हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी पानी निकासको व्यवस्था गर्ने तथा बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button