डुबानमा परेको हजारौँ बिघा धानखेती जोगाउन नगरप्रमुख कुर्मीको तदारुकता

रौतहट । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण रौतहटको वृन्दावन नगरपालिका–३ पिपरा ब्रहमस्थान क्षेत्रका हजारौँ बिघा धानखेती डुबानमा परेपछि नगरपालिकाले तत्काल पानी निकासको व्यवस्था गरेको छ ।
डुबानका कारण किसानको ठूलो लगानी र मेहनतका साथ रोपिएको धानबाली नष्ट हुने जोखिम बढेपछि स्थानीय किसानले नगरपालिकासँग पहल गर्न आग्रह गरेका थिए । किसानको गुनासो लगत्तै नगरप्रमुख विनोदप्रसाद कुर्मी जेसीबीसहित घटनास्थलमा पुगेर पानी निकास खुलाउने कार्य सुरु गराउनुभएको हो ।
नगरपालिकाका अनुसार आवश्यक स्थानमा निकास खोल्ने काम सुरु भएसँगै केही घण्टाभित्र खेतमा जमेको पानी बाहिरिने र डुबानको समस्या हट्ने अपेक्षा गरिएको छक। यसबाट हजारौँ बिघा धानखेती जोगिने विश्वास गरिएको छ ।
नगरप्रमुख कुर्मीले किसानको समस्या समाधान गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको पसिना र मेहनत खेर जान दिन सकिँदैन। डुबानको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको टोली आवश्यक उपकरणसहित परिचालन गरेका छौँ। खेती जोगाउन आवश्यक पर्ने सबै सहयोग गर्न नगरपालिका प्रतिबद्ध छ ।”
पानी निकासको काम सुरु भएपछि किसानहरूले राहत महसुस गरेका छन्। स्थानीयले नगरपालिकाले समयमै चालेको पहलका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रतिक्रिया दिएका छन् ।
पानी निकासको कार्यमा वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख राम स्नेही यादव, नगरप्रमुखका प्रत्याशी प्रेमशंकर यादव, वडा नं. ३ का वडा सदस्य वीरेन्द्रप्रसाद यादव, युवा नेता धिरेन्द्र यादव, दीपेन्द्र यादव, रामचन्द्र यादवलगायत स्थानीय किसान तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।
स्थानीयवासीले कृषि उत्पादन संरक्षणका लागि नगरपालिकाले देखाएको तत्परता प्रशंसनीय रहेको भन्दै यस्ता समस्या समाधानमा दीर्घकालीन पानी निकास व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्