तपाईँ सुन्दै हुनुहुन्छः

पुरातात्त्विक सम्पदा संरक्षणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको संरक्षणमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा सांसदहरुले विश्व सम्पदा सूचिमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवद्र्धनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

नेपाली भूमिमा रहेका हजारौँ सम्पदाहरूको प्रचार प्रसार र खोज अनुसन्धान हुनुपर्नेमा जोड दिँदै सांसदहरुले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्त्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल कदमी लिन सरकारलाई अनुरोध गर्नुभयो । 

बैठकमा पुरातत्त्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले बजेट र जनशक्ति अभावमा पुरातात्त्विक महत्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परेको बताउनुभयो । 

समिति सभापति पूजा चौधरीले नेपालका ऐतिहासिक, सांस्कृतिक  र पुरातात्त्विक महत्वका  सम्पदाको खोज अनुसन्धान गरी अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्न सके  थप पर्यटक भित्रिने हुँदा यस सम्बन्धमा सम्बन्धित मन्त्रीहरूसँग पनि समितिले छलफल गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button