तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री गुरुङद्वारा जानकी मन्दिरमा पूजापाठ, तराई मधेसको जनजीवन सहज बन्दै  

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले विगत केही दिन यता कोशी तथा मधेश प्रदेशमा उत्पन्न भएको असहजताहरूको वार्ता तथा संवादबाट समाधान गरेपछि आज जनकपुरधाम स्थित विभिन्न मठ मन्दिरहरूमा पूजा अर्चना गर्नु भएको छ ।

गृहमन्त्री गुरुङले विभिन्न माग सहित आन्दोलनरत रहेको संयुक्त हिन्दू मोर्चासँग गएराति जनकपुरधाममा वार्ता गरेर १३ बुँदाको सहमति गरेपछि आन्दोलनको सबै कार्यक्रम स्थगित गराएपछि आज जनकपुरधामको जानकी मन्दिर सहितका मठ मन्दिरहरूमा पूजा अर्चना गर्नु भएको हो ।

हिजो जनकपुरधाम आउनु भएका गृहमन्त्री गुरुङ आज बिहान जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजापाठ गरेर प्रसाद तथा टिका ग्रहण गर्नु भएको छ ।

सुनसरीमा भएको घटनाको कारण धार्मिक द्वन्द्व मधेस भर फैलिएपछि उहाँ कोशी प्रदेशको सुनसरी, मधेश प्रदेशका सिरहा तथा मधेश प्रदेशका राजधानी जनकपुरधाममा पिडित सहित आन्दोलनरत पक्षहरूसँग वार्ता तथा संवाद गर्नु भएको थियो ।

हिन्दुवादी सङ्गठनहरूको संयुक्त मोर्चासँगको वार्तापछि मधेश प्रदेशका जिल्लाहरूमा देखिएको शान्ति सुरक्षाको अवस्थामा सुधार भएको छ भने जनजीवन थोरै सहज बन्न थालेका छन् । बजारहरू पनि फाटफुट रुपमा खुल्न थालेका छन् । निषेधाज्ञा आदेश नहटेकाले पाँज जना भन्दा बढीलाई भेला हुन, सभा, विरोध प्रदर्शन सहितको गतिविधि गर्न नपाउने भएकाले जनकपुरधाममा भिडभाड कम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button