बाँकेमा ९३ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज । बाँकेमा कुल धान खेतीयोग्य क्षेत्रफलको ९३.०४ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ३१ हजार ४ सय २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो ।

पछिल्लो समय रोपाइँले तीव्र गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीमा निर्भर रहेका केही स्थानमा मात्रै रोपाइँ बाँकी छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार सिक्टा सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र तथा अन्य सिँचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाइँ सम्पन्न गरिसकेका छन् । पर्याप्त वर्षापछि वर्षाको भर पर्नुपर्ने क्षेत्रहरूमा पनि रोपाइँ उल्लेखनीय रूपमा अघि बढेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौ पहिलो सातासम्म चल्ने गर्छ । यस वर्ष मनसुन केही ढिलो सक्रिय भएकाले रोपाइँ ढिलो सुरु भए पनि पछिल्ला दिनमा भएको वर्षाले किसानलाई राहत पुगेको छ ।
किसानहरूका अनुसार पछिल्ला केही दिनको वर्षाले खेतमा पर्याप्त चिस्यान पुगेपछि रोपाइँ तीव्र रूपमा अघि बढेको हो । मौसम अनुकूल रही नियमित वर्षा भइरहे बाँकी करिब ६.९६ प्रतिशत क्षेत्रफलमा पनि साउनभित्रै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्