सिद्धिचरण लोकमार्ग : चार पुल निर्माणका लागि बजेट अभाव
उदयपुर । सिद्धिचरण लोकमार्गमा एकातिर बजेट अभावले निर्माणाधीन चार वटा पक्की पुल अलपत्र पर्ने अवस्थामा पुगेका छन् भने अर्कोतर्फ वर्षौँदेखि सबैभन्दा जीर्ण मानिएको कटारी–मरुवा–भदौरे सडकखण्डलाई दुई लेनमा स्तरोन्नति गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । एउटै आयोजनाभित्र देखिएको यो विरोधाभासले विकास निर्माणमा बजेट व्यवस्थापन र प्राथमिकताको प्रश्नसमेत उठाएको छ ।

मिर्चैया–कटारी–घुर्मी सडक आयोजना कार्यालयका अनुसार कटारी नगरपालिका–२ र ३ क्षेत्रमा पर्ने गिद्धवर खोला, कल्याणपुर, ताराघारी र खोक्सा खोलामा निर्माणाधीन चार वटा पक्की पुल निर्धारित समयमै सम्पन्न हुने सम्भावना न्यून छ । ठेक्काको म्याद थपिए पनि आवश्यक बजेट अभावका कारण निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन ।
आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर वीरेन्द्रप्रसाद महतोका अनुसार चार वटै पुल निर्माणको ठेक्का सूर्य एन्ड सन्स प्रालि, धरानले २०७९ असार २९ गते पाएको थियो । २०८२ असोज २९ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि बजेट अभावले लक्ष्यअनुसार काम हुन सकेन ।
गत आर्थिक वर्षसम्म पुल निर्माणमा १४ करोड ४५ लाख ५७ हजार ४२१ रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ मा भने ९ करोड २० लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । महतोका अनुसार ठेक्काको म्याद २०८४ जेठ १९ गतेसम्म थपिएको भए पनि अहिलेको बजेटले चार वटै पुल सम्पन्न गर्न पर्याप्त नहुने देखिएको छ । दुई वटा पुलमा अझै करिब ५० प्रतिशत काम बाँकी रहेको महतोको भनाइ छ ।
यता, यही लोकमार्गअन्तर्गतको सबैभन्दा जोखिमपूर्ण र जीर्ण मानिने कटारी–मरुवा–भदौरे सडकखण्ड भने नयाँ स्वरूपमा विस्तार हुने तयारीमा पुगेको छ । आयोजना कार्यालयले करिब २७.५ किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्नति गर्न तीन अर्ब ९४ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गर्दै निर्माणका लागि दुई वटा बोलपत्र आह्वान गरिसकेको छ । गत असार २६ गते प्रकाशित बोलपत्रको म्याद साउन १५ गतेसम्म तोकिएको थियो ।
आयोजनाका अनुसार सडक डामर कङ्क्रिट मापदण्डअनुसार निर्माण हुनेछ । यसले कटारी नगरपालिका–४ को मरुवा जङ्गलदेखि वडा नं. १४ को लेखनी भदौरेसम्मको अत्यन्त जीर्ण सडकलाई सुरक्षित, फराकिलो र सहज यातायातयोग्य बनाउने अपेक्षा गरिएको छ ।
मिर्चैया–कटारी–घुर्मी सडकको कुल लम्बाइ करिब ७२ किलोमिटर छ । मिर्चैया–कटारी खण्ड सिङ्गल लेन कालोपत्रे भइसकेको छ भने कटारी–घुर्मीको ४६ किलोमिटरमध्ये हालसम्म आठ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।
ऐतिहासिक रूपमा २०३४ सालमा मिर्चैया–कटारी सडक सञ्चालनमा आएपछि कटारी–ओखलढुङ्गा सडक निर्माण भएको थियो । २०५८ सालदेखि सिद्धिचरण लोकमार्गका रूपमा कटारी–घुर्मी खण्डमा पनि सवारी सञ्चालन सुरु भएको भए पनि त्यसयता सडकको प्रभावकारी स्तरोन्नति हुन सकेको छैन । स्थानीयले वर्षौँदेखि यो सडक विस्तार र स्तरोन्नतिको माग गर्दै आएका थिए ।
सिद्धिचरण लोकमार्ग उदयपुरका लागि मात्रै होइन, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका नागरिकका लागि पनि जीवन रेखा मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्