तपाईँ सुन्दै हुनुहुन्छः

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव फेला

इस्लामाबाद। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ । तीमध्ये तीन जनाको शव शुक्रबार बाहिर निकालिएको अधिकारीले जनाएका छन् । 

Pakistan Mountaineers Missing

खराब मौसमका कारण हेलिकप्टरमार्फत खोजी तथा उद्धार कार्य प्रभावित भएको छ । गिलगिट-बाल्टिस्तान क्षेत्रीय सरकारले फेला परेका तीन शव नेपाली पर्वतारोही पूर्णबहादुर गुरुङ, ओमानी पर्वतारोही नथिरा अहमद र अमेरिकी पर्वतारोही म्यालोरी गेइसको भएको पुष्टि गरेको छ । 

शवहरू अस्पताल पठाइएको छ । अधिकारीका अनुसार चौथो शव पनि फेला परेको छ, तर त्यसको पहिचान अझै खुलाइएको छैन । गिलगिट-बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेनले खराब मौसमका कारण शुक्रबार पनि उद्धार कार्य प्रभावित भएको बताउनुभएको छ । अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीका अनुसार ब्रोड पिक आरोहणका क्रममा हिमपहिरो गएपछि पर्वतारोहीको आधार शिविरसँग सम्पर्क विच्छेद भएको थियो ।

“टोली बिहीबारदेखि सम्पर्कविहीन छ,” उहाँले भन्नुभयो । खोजी तथा उद्धार कार्यमा पाकिस्तानी सेनाका हेलिकप्टरसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार बेपत्ता पर्वतारोहीको खोजी शुक्रबार साँझसम्म जारी राखिएको थियो भने शनिबार पुनःसञ्चालन गरिने छ । आठ हजार ४७ मिटर उचाइको ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो । 

पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित यस क्षेत्रमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये पाँच वटा रहेका छन् । अल्पाइन क्लबका अनुसार अभियान टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक चिनियाँ, एक ओमानी, एक अमेरिकी तथा अर्का एक विदेशी पर्वतारोही सहभागी थिए । बेपत्ता भएकामध्ये आफ्ना कुनै नागरिक छन् कि छैनन् भन्नेबारे पुष्टि गरिरहेको चीनले आवश्यक परे सहयोग उपलब्ध गराउने जनाएको छ ।

अभियानको नेतृत्व नेपालमा जन्मिएका बेलायती पूर्वसैनिक तथा चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाई)ले गर्नुभएको थियो । उहाँले सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल १८९ दिनमा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको थियो ।

ब्रोड पिक आरोहणका लागि अभियान पाकिस्तानस्थित ट्राभल कम्पनी मुभिङ माउन्टेन्सले आयोजना गरेको थियो । कम्पनीका अनुसार अमेरिकी पर्वतारोही म्यालोरी गेइसका लागि यो पाकिस्तानको आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो आरोहण प्रयास थियो । उत्तरी पाकिस्तानमा हिमपहिरो र तीव्र रूपमा परिवर्तन हुने मौसमका कारण पर्वतारोहण अभियानमा दुर्घटना हुने घटना बारम्बार हुने गरेका छन् । रासस/एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button