सुनसरी गोलीकाण्डः दुई युवाको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो, आजै अन्त्येष्टि

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोली काण्डमा ज्यान गुमाएका दुई युवाको शव सरकार र पीडित पक्षबीच भएको सात बुँदे सहमतिपछि शुक्रबार पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ। यससँगै पाँच दिनदेखि रोकिएको अन्त्येष्टि गरिएको छ।
मृतक देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको थियो। सहमतिपछि कोशी अस्पतालमा पोस्टमार्टम सम्पन्न गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगन्ज गाउँपालिकामा भएको वार्तापछि सरकार र पीडित पक्षबीच सात बुँदे सहमति भएको थियो। सहमतिअनुसार दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर दिइने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने उल्लेख छ।
गत आइतबार राति कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनास्थलमै गम्भीर घाइते भएका ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो भने जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।






प्रतिक्रिया राख्नुहोस्