ज्येष्ठ नागरिकको भेटघाट र अनुभव साट्ने थलो बन्यो मुक्तिपुरमा मिलन केन्द्र

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ मुक्तिपुरमा ज्येष्ठ नागरिकका लागि क्लब तथा मिलन केन्द्र सञ्चालनमा आएको छ। ज्येष्ठ नागरिकलाई आफ्नै उमेर समूहका साथीभाइसँग नियमित भेटघाट, भलाकुसारी, अनुभव आदानप्रदान तथा मनोरञ्जनका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको केन्द्रको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो ।
मिलन केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख विष्टले ज्येष्ठ नागरिक समाजका महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताले उहाँहरूबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।
“ज्येष्ठ नागरिक समाजका गहना हुन्। गहनाले शरीर सुन्दर देखिएजस्तै ज्येष्ठ नागरिकले समाजलाई सुन्दर बनाउँछन्,” नगरप्रमुख विष्टले भन्नुभयो, “उहाँहरूले देखाएको बाटोमा हिँड्न सके मात्र देश र समाजको विकास सम्भव हुन्छ।”

उहाँले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य तथा सामाजिक सुरक्षाका क्षेत्रमा स्थानीय तहबाट आवश्यक सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई एक्लोपनबाट टाढा राख्न मिलन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष अजितकुमार शर्माका अनुसार ज्येष्ठ नागरिकलाई फुर्सदको समय बिताउन, आफ्ना दौँतरीसँग भेटघाट तथा भलाकुसारी गर्न र जीवनका अनुभव साटासाट गर्ने उपयुक्त थलोको अभाव महसुस भएपछि मिलन केन्द्र स्थापना गरिएको हो। केन्द्रले ज्येष्ठ नागरिकलाई सामाजिक रूपमा सक्रिय बनाउँदै उनीहरूको जीवनमा आत्मीयता र अपनत्वको अनुभूति गराउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठले विकास निर्माणदेखि सामाजिक तथा पारिवारिक क्षेत्रमा ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनीहरूको ज्ञान र अनुभवलाई समाज निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। “ज्येष्ठ नागरिकको भूमिका अतुलनीय छ। उहाँहरूको सम्मानले मात्र समाज र परिवार सुखी बन्न सक्छ,” उहाँले भन्नुभयो।
नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्यले मिलन केन्द्रलाई वडाका ज्येष्ठ नागरिकका लागि भेटघाट, विश्राम र आत्मीय संवाद गर्ने ‘बिसौनी’का रूपमा विकास गरिने बताउनुभयो। केन्द्रलाई नियमित रूपमा सञ्चालन गर्दै ज्येष्ठ नागरिकको आवश्यकता र रुचिअनुसार विभिन्न गतिविधि सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र हेरचाह परिवारसँगै समाजको पनि साझा दायित्व भएको बताउनुभयो। जीवनभर समाज र राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको अनुभव र योगदानको कदर गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा लाइफलाइन अस्पतालका सञ्चालक तथा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। पारस श्रेष्ठले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन अस्पतालले विशेष छुटको व्यवस्था गर्ने घोषणा गर्नुभयो। वरिष्ठ दन्त सर्जन डा। प्रतीक श्रेष्ठले सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सम्मान र संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।
मिलन केन्द्र सञ्चालनको अवसरमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। स्वास्थ्य शिविरमा सहभागी ज्येष्ठ नागरिकको सुगर, प्रेसर, थाइराइडलगायत स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष शर्माले जानकारी दिनुभयो।
केन्द्रमा ज्येष्ठ नागरिकले नियमित रूपमा भेटघाट, भलाकुसारी तथा मनोरञ्जन गर्न पाउनेछन् । आगामी दिनमा स्वास्थ्य सचेतना, सामाजिक अन्तरक्रिया, अनुभव आदानप्रदान तथा सिर्जनात्मक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको क्लबले जनाएको छ ।
मुक्तिपुरमा सञ्चालनमा आएको ज्येष्ठ नागरिक क्लब तथा मिलन केन्द्रले ज्येष्ठ नागरिकको सामाजिक सक्रियता बढाउँदै एक्लोपन घटाउन र पुस्ताबीचको अनुभव तथा ज्ञान आदानप्रदानको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्