कात्तिक १० गतेदेखि भेट्रान्स फुटबल प्रतियोगिता हुने
काठमाडौँ । नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकहितका लागि क्रियाशील सामाजिक संस्था ‘फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले आगामी कात्तिक १० गतेदेखि भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।
शुक्रबार कार्यसम्पादन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै विजेता र उपविजेताका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको हो ।
एफएमटीका अनुसार प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी संस्थाले आगामी असोज २० गतेदेखि ड्याफोडिल स्कुलको सहकार्यमा यु–११ महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिताको उद्देश्य बालबालिकामा फुटबलप्रति रुचि र प्रतिभा पहिचान गर्नु रहेको एफएमटीले जनाएको छ ।
बैठकले संस्थाको कार्यसम्पादन समिति पनि विस्तार गरेको छ । सहायक महासचिवमा अस्मिता मानन्धर र बालगोपाल महर्जन मनोनीत भएका छन् । कार्यसमिति सदस्यमा लुना प्रधान, अनिल अधिकारी, मृगेन्द्र मिश्र र लिला थापा तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मधुसुदन उपाध्याय नियुक्त भएका छन् ।
त्यस्तै बैठकले संस्थाको कल्याणकारी कोष (वेल्फेयर फण्ड)लाई थप प्रभावकारी र सुदृढ बनाउने निर्णय पनि गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्