तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मत रुपमा पुनः पारित गरेको छ । 

यसअघि गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी गत शुक्रबार सन्देशसहित पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो । 

आजको बैठकमा उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेशसभा सदस्य प्रकाश बराल, देवका पहाडी त्रिपाठी, हरिबहादुर भण्डारी, फणिन्द्र देवकोटा लगायतले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यहरुले प्रदेशसभाले आफ्नो स्वतन्त्र विधायकी अधिकार प्रयोग गरेर गरेर विधेयक निर्माण गरेको बताउनुभएको थियो । 

पुरानो सङ्घीय कानुनको व्यवस्था देखाएर विसं २०७२ को संविधान अनुसार गठित प्रदेश सरकारले बनाएका कानुन रोक्न नहुनेमा उहाँहरूको जोड थियो । मौजुदा विधेयकमाथिको छलफलपछि मन्त्री रिमालले उक्त विधेयकलाई प्रस्तुत रूपमै पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । 

सभामुख कृष्णप्रसाद धितालले बैठकमा निर्णयार्थ पेश भएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको थियो । उक्त विधेयकलाई प्रमाणीकरणका लागि पुनः प्रदेश प्रमुखको कार्यालयमा पठाइने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button