वीरगञ्जमा बृहत् सद्भाव र्याली सम्पन्न
वीरगञ्ज । मध्य तराईको प्रमुख सहर वीरगञ्जमा सामाजिक सद्भाव, भाइचारा र एकता कायम राख्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको संयुक्त आयोजनामा आज एक बृहत् सद्भाव र्याली सम्पन्न भएको छ ।

सबै जातजाति, भाषाभाषी र समुदायबीचको आपसी एकतालाई बलियो बनाउने उद्देश्यले निकालिएको उक्त र्यालीमा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, उद्योगी–व्यवसायी र विभिन्न धर्म तथा समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले हातमा सद्भाव र एकता झल्किने प्लेकार्ड बोकेर सहरका विभिन्न भागको परिक्रमा गरेका थिए ।
र्यालीका अवसरमा बोल्दै स्थानीय अगुवाहरूले वीरगञ्ज सधैँ विविधताबीचको एकता र सहिष्णुताको प्रतीक रहेको उल्लेख गर्दै कुनै पनि अवाञ्छित घटनाले यो ऐतिहासिक एकतालाई कमजोर पार्न नसक्ने स्पष्ट पारेका छन् ।
यसैबीच, र्याली सम्पन्न भएपश्चात् घण्टाघर क्षेत्रमा केही बेर युवाहरूको प्रदर्शनका कारण छिटपुट तनावको अवस्था सिर्जना भएको भए पनि सुरक्षा निकायको तत्कालको सक्रियताले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएको छ । हाल वीरगञ्जको शान्ति–सुरक्षा व्यवस्था कडा पारिएको छ र जनजीवन सामान्य बन्दै गएको छ ।
स्थानीय प्रशासनले जिल्लाको शान्ति–सुरक्षा र सामाजिक भाइचारालाई अक्षुण्ण राख्न सम्पूर्ण नगरवासीहरूलाई कुनै पनि प्रकारका भ्रम र अफवाहको पछि नलागी संयम र धैर्यता अपनाउन हार्दिक अपिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्