राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्था, शान्ति–सुरक्षाको संवेदनशीलता तथा जिल्ला सुरक्षा समितिको साउन १५ गतेको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू राजविराज नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही क्षेत्र, उत्तरमा रुपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा लागू हुनेछ।
जिल्ला प्रशासन कार्यालयले आन्दोलन तथा ढुंगामुढाका घटनाले शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जनाएको छ।
प्रशासनले कर्फ्यू आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गरी शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।









प्रतिक्रिया राख्नुहोस्