शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन ‘एमआइएस अपरेटर’ सुरेश कँहारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैङ्क खातामा रु पाँच लाख जम्मा भएको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने जिम्मेवारी तत्कालीन एमआइएस अपरेटर कँहारलाई दिइएको थियो । सो कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरी रु छ लाख पेश्की लिएको र उक्त रकम खातामा आए लगत्तै त्यसमध्ये रु पाँच लाख उपाध्यक्ष चौधरीको बैङ्क खातामा जम्मा गरिएको आयोगले जनाएको छ ।
लिइएको पेश्की रकमबाट तोकिएको कार्यक्रममा खर्च नगरी घुस र रिसवतका रूपमा उपाध्यक्ष चौधरीलाई उपलब्ध गराइएको आरोप लागेको छ । सो कार्यमा उपाध्यक्ष चौधरी र तत्कालीन एमआइएस अपरेटर कँहारबीच मिलेमतो रहेको अनुसन्धानबाट खुलेको छ ।
आयोगले उनीहरूविरुद्ध रु पाँच लाख बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा घुसस्वरुप लिइएको रकम जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्