तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा आज साँझदेखि लागू हुने गरी निषेधाज्ञा जारी 

बीरगंज  । वीरगन्जमा आज साँझदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि वीरगन्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम जारी गरिएको यस आदेशअनुसार तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिसहरू जम्मा हुन, भेला हुन, सभा–जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा मनाही गरिएको छ ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा  वीरगन्जको पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिमतर्फ तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट रहेका छन् ।

प्रशासनले यो आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button