तपाईँ सुन्दै हुनुहुन्छः

युवा, श्रम तथा स्वरोजगार मन्त्री यादवद्वारा द्रुत सेवा प्रवाह र बेरुजु शून्य बनाउन निर्देशन

काठमाडौँ | युवा, श्रम तथा स्वरोजगार मन्त्री रामजी यादवले सरकारप्रति जनताको अपेक्षा उच्च रहेकाले सोहीअनुरूप द्रुत गतिमा सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्रालयको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नागरिकका गुनासोहरूलाई ‘आवश्यक’ र ‘अति आवश्यक’ रूपमा वर्गीकरण गरी शीघ्र सम्बोधन तथा कारबाही अघि बढाउन विभाग तथा मातहतका निकायहरूलाई निर्देशन दिनुभयो।

त्यस्तै, रोजगारी सिर्जना र प्रवर्द्धनमा सरकारको लक्ष्य हासिल गर्न स्थानीय तह, प्रदेश सरकार तथा अन्तर-मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्यका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री यादवले रोजगार नीति तथा ऐन तोकिएको समयअगावै निर्माण गरी कार्यसम्पादनमा उत्कृष्ट नतिजा निकाल्न जोड दिनुभयो।

मन्त्रालयको पूँजीगत खर्च चैत मसान्तभित्रै गरिसक्ने गरी कार्य अघि बढाउन र असुल-उपर वा फरफारकमार्फत बेरुजु शून्य बनाउनसमेत उहाँले निर्देशन दिनुभयो।

सोही बैठकमा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पूँजीगत खर्च कार्यान्वयनमा देखिएका कमजोरी र चुनौती पहिचान गरी समस्या समाधानका लागि आवश्यक कदम चाल्न पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। नागरिकमा सकारात्मक प्रभाव पर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै सचिव काफ्लेले मन्त्रालयका प्रत्येक कार्यक्रमको कार्ययोजना र समयतालिका बनाई जिम्मेवार अधिकारी तोकेर अघि बढ्न निर्देशन दिनुभयो।

बैठकमा मन्त्रालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button