सञ्चार मन्त्रालयको चौथो त्रैमासिक समीक्षा बैठक: नतिजा देखिने गरी काम गर्न मन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा.विक्रम तिमल्सिनाले गोरखापत्र, रेडियो नेपाल, रासस, र नेपाल टेलिभिजनजस्ता ऐतिहासिक संस्थाहरूलाई बलियो बनाउन सरकारले निकै महत्व दिइरहेको बताउनुभएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक वार्षिक प्रगति समीक्षा बैठकमा मन्त्री तिमल्सिनाले सार्वजनिक सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएका यस्ता संस्थाहरूको उत्थान र गुणस्तर वृद्धि गर्न ती संस्थाहरूलाई नयाँ फ्रेमबाट सञ्चालन सरकार तत्पर रहेको बताउनुभयो ।
सरकार गठनको तीन महिना बितिसक्दा सरकारले गर्न खोजेका कामहरूबारे जानकारी भइसकेको भन्दै मन्त्री तिमल्सिनाले सरकारको स्प्रिटलाई बुझेर कार्यसम्पादन गर्न मन्त्रालय अन्तरगतका सम्पूर्ण निकायहरूलाई निर्देशन पनि दिनुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झाले सरकारको डिजिटल प्रशासनदेखि डिजिटल अर्थतन्त्रसम्मको योजना कार्यान्वयन गर्ने निकायहरू सञ्चार मन्त्रालयअन्तर्गत रहेकाले सोही अनुसार प्रविधिमा आधारित सेवा प्रवाह गरिनुपर्ने बताउनुभयो ।
उहाँले डिपिआर नभएका विकासका ठूला योजनालाई आगामी आर्थिक वर्षदेखि सरकारले बजेट विनियोजन गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।
त्यसैगरी मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले पूजीँगत खर्च बढाउन समयमै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिँदै खरिद प्रक्रिया साउन मसान्तबाट अघि बढाउन सबै निकायलाई आग्रह गर्नुभयो ।
बैठकमा मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले नेपाल टेलिकमले फाइव जी सञ्चालनका लागि प्रक्रिया अघि बढाएको र सार्वजनिक सेवा प्रसारण सञ्चालन मोडालिटीका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।
बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौत, गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल, राससका महाप्रबन्धक सन्दीप राई, सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक देवराज ढुङ्गानालगायतले कार्यसम्पादनका सन्दर्भमा देखिएका समस्या राख्दै समाधानका उपायहरू पनि सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्