माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य
काठमाडौँ।युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई थप व्यवस्थित बनाउन माग प्रमाणीकरणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।
साउन १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले अबदेखि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा श्रमिकले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार काम कम्पनीभित्र (इनडोर) वा कम्पनीबाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ। यदि दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भए दुवैको कार्यसमयसमेत उल्लेख गरी माग प्रमाणीकरण गर्नुपर्नेछ।
यसअघि कामको शीर्षक मात्र उल्लेख भए पनि माग प्रमाणीकरण हुने व्यवस्था रहेकामा अब विस्तृत कार्य विवरण अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा–सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्ष वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ।
मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकमाथि हुन सक्ने शोषण र ठगी न्यूनीकरण गर्न, श्रमिकको सेवा–सर्तको सुरक्षा सुनिश्चित गर्न तथा विदेश पठाउने प्रक्रियालाई थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्