तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि सेवा समय बढाइयो 

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता तथा कार्ड वितरण सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन सेवा समय विस्तार गरेको छ ।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २०८३ साउन ११ गते सोमबारदेखि सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गरिने जनाएको हो । यसअघि कार्यालय समयभित्र मात्र उपलब्ध हुँदै आएको सेवा अब थप समय सञ्चालन गरिने भएपछि सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । यही चापलाई व्यवस्थापन गर्दै छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले सेवा समय विस्तार गरिएको हो ।

यस्तै, कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाइसकेपछि परिचयपत्र नम्बर प्राप्त हुन तथा विभागीय प्रणालीमार्फत ब्उउचयखभ (स्वीकृत) हुन केही समय लाग्ने जनाएको छ । प्रणाली स्तरोन्नतिका कारण स्वीकृतिको प्रक्रिया क्रमशः भइरहेको उल्लेख गर्दै, स्वीकृतिको प्रतीक्षामा रहेका सेवाग्राहीलाई अनावश्यक रूपमा जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले सेवाग्राहीलाई तोकिएको समयमा उपस्थित भई सेवा लिन तथा आवश्यक जानकारीका लागि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button