तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली डेभलपमेन्ट बैंक छ महिनाभित्र पुनः सञ्चालन गर्ने राष्ट्र बैंकको तयारी

बाँके। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई पुनर्संरचना गरी बढीमा छ महिनाभित्र पुनः सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

नेपालगन्जस्थित बैंकको केन्द्रीय कार्यालयअघि निक्षेपकर्ताले बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गरेपछि राष्ट्र बैंकले बैंकलाई खारेज नगरी नयाँ संरचनामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो। आश्वासनपछि बाँके, बर्दिया र दाङलगायत जिल्लाबाट आएका निक्षेपकर्ताले आन्दोलन स्थगित गरेका छन्।

राष्ट्र बैंकबाट खटिएको विशेष सञ्चालक समितिका संयोजक तथा उपनिर्देशक टीकाराम खतिवडाले बैंकलाई लिक्विडेसनमा लैजाँदा निक्षेपकर्ताको थप क्षति हुने र बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर हुने भएकाले पुनर्संरचनाको विकल्प रोजिएको बताए।

उनका अनुसार विद्यमान सेयरधनीबाट पुँजी वृद्धि गर्ने र नयाँ लगानीकर्ता भित्र्याएर बैंकलाई राष्ट्रियस्तरको विकास बैंकका रूपमा पुनः सञ्चालन गर्ने योजना अघि बढाइएको छ। पुनर्संरचनापछि बैंकको नाम, सञ्चालक समिति र व्यवस्थापनसमेत परिवर्तन हुन सक्ने उनले जानकारी दिए।

राष्ट्र बैंकले निक्षेपकर्तालाई तत्काल राहत उपलब्ध गराउने उपायबारे पनि छलफल भइरहेको जनाएको छ। आगामी दुईदेखि तीन महिनाभित्र पुनर्संरचनाको प्रक्रिया स्पष्ट रूपमा देखिने गरी आवश्यक सूचना सार्वजनिक गरिने र त्यसपछि निक्षेप फिर्ताको प्रक्रिया अघि बढाइने खतिवडाको भनाइ छ।

यसैबीच, कर्णाली डेभलपमेन्ट बैंकसँग सम्बन्धित वित्तीय अनियमितताको मुद्दा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा विचाराधीन छ। उक्त मुद्दामा १०९ जनाविरुद्ध अभियोग दर्ता भएको छ भने हालसम्म ३५ जना प्रतिवादी अदालतमा उपस्थित भएका छन्।

करिब ३ अर्ब २० करोड रुपैयाँ बराबरको वित्तीय अनियमितताको आरोपपछि लामो समयदेखि निक्षेपकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button