तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा विमानस्थलको सटल बस अब सःशुल्क रूपमा नियमित सञ्चालनमा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बस सेवा ३ महिना पश्चात् यही साउनदेखि स:शुल्क रुपमा सञ्चालन भएको छ । 

विमानस्थलदेखि अमरसिंह चोकसम्म सञ्चालन गरिएको निःशुल्क सटल बस सेवा असार मसान्तसम्मका लागि मात्रै सञ्चालन भएसँगै पोखरा महानगरपालिका र पोखरा बस सेवा प्रा.लि.बीच भएको सहमतिअनुसार साउन १ गतेदेखि उक्त सेवा सशुल्क रूपमा सञ्चालन भइरहेको महानगरले जनाएको छ ।

हाल विमानस्थलबाट दुईवटा ननस्टप सटल बस नियमित रूपमा सञ्चालनमा रहेको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । उक्त बस सेवा बन्द भएको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिएका सूचनाप्रति पोखरा महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । महानगरले निःशुल्क सेवा पूर्वनिर्धारित अवधिसम्म मात्रै सञ्चालन गरिएको र अहिले सोही सेवा सशुल्क रूपमा नियमित सञ्चालनमा रहेको स्पष्ट पारेको छ ।

पोखरा बस सेवा प्रालिका अध्यक्ष देउप्रसाद गुरुङका अनुसार एउटा बस विमानस्थल–विरौटा–फेवाताल (लेकसाइड) र अर्को विमानस्थल–पृथ्वीचोक–हल्लनचोक रुटमा सञ्चालन गरिएको छ । दुवै बसको भाडा प्रति यात्रु १०० रुपैयाँ कायम गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार सशुल्क सेवा सुरु भए पनि अपेक्षाअनुसार यात्रु आकर्षित हुन सकेका छैनन्। उहाँले प्रचारप्रसारको अभावका कारण यात्रु सङ्ख्या न्यून रहेको बताउँदै सोमबार एउटा बसबाट करिब १ हजार ६ सय रुपैयाँ र अर्कोबाट १ हजार २ सय रुपैयाँ मात्र आम्दानी भएको जानकारी दिनुभयो । “यदि यात्रु सङ्ख्या यस्तै न्यून रहिरह्यो भने सेवा दिगो रूपमा सञ्चालन गर्न कठिन हुन्छ । साउनको पहिलो पन्ध्र दिनको अवस्था हेरेर आगामी निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ,“ उहाँले भन्नुभयो।

महानगरपालिकाका अनुसार यस सेवाका लागि आयात गरिएका नयाँ विद्युतीय बसहरू नयाँ भन्सार तथा कर दर लागू भएका कारण हाल जाँचपास प्रक्रियामा छन्। ती बस सञ्चालनमा आउन केही समय लाग्ने भएकाले अहिलेका लागि पोखरा बस सेवासँग रहेका सुविधा सम्पन्न बसमार्फत सेवा निरन्तर सञ्चालन गरिएको छ ।

यसअघि पोखरा महानगरपालिकाले महानगर यातायात प्रालि, कामना सेवा विकास बैङ्क र कृषि विकास बैङ्कसँगको सहकार्यमा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क सटल बस सेवा सञ्चालन गरेको थियो।

त्यतिबेला नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुलाई भरपर्दो, सहज र सुलभ सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले परीक्षणका रूपमा असार मसान्तसम्म निःशुल्क सेवा सञ्चालन गरिएको बताउनुभएको थियो । महानगरले पोखरालाई स्मार्ट सिटी र ग्रिन सिटी बनाउने अवधारणाअनुसार विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिँदै विमानस्थलसँग शहरको सहज पहुँच विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ । साथै, ट्याक्सीको महँगो भाडा र विशेषगरी रातिको समयमा यात्रुले भोग्दै आएको यातायात समस्यालाई समाधान गर्ने उद्देश्यले पनि सटल बस सेवा सञ्चालनमा ल्याइएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button