तपाईँ सुन्दै हुनुहुन्छः

आईटीएफ वर्ल्ड टेनिस टुर जे–३० मा २१ देशका १५० खेलाडी सहभागी हुँदै

पोखरा । पोखरामा भोलि (सोमबार) देखि अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता ‘आईटीएफ वर्ल्ड टेनिस टुर जे–३०’ सुरु हुने भएको छ । प्रतियोगितामा विश्वका २१ देशका करिब १५० खेलाडीले सहभागिता जनाउने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, जापान, न्युजिल्यान्ड, ताइवान, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, बङ्गलादेश, क्यानडा, सिंगापुर, हङकङ, मलेसिया, श्रीलङ्का, इजरायल, इजिप्ट, पाकिस्तान, रोमानिया र साउदी अरेबियाका खेलाडी सहभागी हुने प्रतियोगिता संयोजक नवीन चालिसेले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ६० गरी करिब १५० खेलाडीको सहभागिता रहने उहाँले जनाउनुभयो । 

खेलाडीसँगै विभिन्न देशबाट आउने अभिभावक तथा प्रशिक्षक गरी करिब ३०० जनाको पोखरामा करिब दुई साता बस्ने भएको सङ्घले जनाएको छ । प्रतियोगितामा १३ देखि १८ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विश्व वरियताका आधारमा खेलाडीले सिधै मुख्य ड्रमा प्रवेश पाउनेछन् भने अन्य खेलाडीले छनोट चरण पार गरेर मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् । 

प्रतियोगितामा पुरुष सिंगल्स, पुरुष डबल्स, महिला सिंगल्स र महिला डबल्स गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । सिंगल्सतर्फको मुख्य ड्रमा ३२ खेलाडी रहनेछन् । प्रतियोगितामा सिंगल्सतर्फ विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलमा पुग्नेले ९, क्वार्टर फाइनलमा पुग्नेले ५ र अन्तिम १६ मा पुग्ने खेलाडीले २ अंक प्राप्त गर्नेछन् । त्यसैगरी डबल्सतर्फ विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिष्टले ६ र क्वार्टरफाइनलिष्टले ३ अंक प्राप्त गर्ने कास्की जिल्ला टेनिस संघका सचिव भीष्मराज पौडेलले जानकारी दिनुभयो । 

प्रतियोगिताका विजेता तथा उपविजेताले मेडल प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आईटीएफ) को वरीयतामा सुधार गर्ने अवसरसमेत रहेकाले प्रतियोगिता युवा खेलाडीका लागि महत्वपूर्ण हुने सङ्घको विश्वास छ । कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ (राजु) को अध्यक्षतामा कार्यक्रम भएको हो । संघका प्रतियोगिताले पोखरालाई अन्तर्राष्ट्रिय टेनिस गतिविधिसँग जोड्नुका साथै नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर सिर्जना गर्ने अध्यक्ष गुरुङले जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button